top of page

सनग्लास: आँखाको स्वास्थ्यका लागि अत्यावश्यक:

  • सेती आँखा उपचार केन्द्र
  • Apr 6, 2018
  • 3 min read


भूकम्प र झरीको हैरानी कमकम हुँदै गएसँगै घाम चर्किन थालेको छ । उपत्यका जस्तो उचाइमै चिरिक्क पोल्ने तराईमा कस्तो असर पारिरहेको होला , सहजै अनुमान गर्न सकिन्छ । केही दिनयता दिउँसो घरबाहिर निस्कनु कष्टप्रद बन्दै गएको छ । योसँगै सावधानीको अर्को बुँदा थपिएको छ । यो मौसममा शरीरलाई गर्मीको कुप्रभावबाट जोगाउन धेरै जनाले धेरै उपाय अपनाउने गरेका छन् । तिनै व्यक्ति पनि आँखा जस्तो संवेदनशील अंगको सुरक्षाबारे भने त्यति होसियार रहेको पाइँदैन । घाममा लगाउने उपयुक्त प्रकारको चस्मा, सनग्लास वा गगल्सले गर्मी याममा तपाईंका आँखालाई सुरक्षित पर्यावरण प्रदान गर्ने गर्छ,


बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रका निर्देशक डा. डीएन साह भन्छन् ।

# अध्ययनहरूले के देखाएका छन् भने, परावैजनी किरणसँगको बढ्दो सम्पर्कका कारण भविष्यमा मोतीबिन्दु हुन सक्छ । यसबाट बाँच्न सनग्लास लगाउनुपर्छ ।


# उपयुक्त गुणस्तरको चस्माले तपाईंका आँखालाई कडा घामबाट मात्र जोगाउँदैन, धूलो, धुवाँ जस्तो प्रदूषणबाट सुरक्षित राख्नुका साथै अनुहारलाई स्टाइलिससमेत बनाउँछ ।तर, यो मौसममा परावैजनी किरण (अल्ट्राभ्वाइलेट रे) लाई अवशोषित गर्ने क्षमता नभएको गाढा रंगको चस्मा लगाउँदा फाइदाको साटो बेफाइदा हुन सक्छ, डा. साह भन्छन् ।

# चस्मा सभैं शतप्रतिशत परावैजनी किरण छान्ने किसिमको लगाउने गर्नुपर्छ । सिसाको रंगको मात्राको सम्बन्ध परावैजनी लगायत अन्य घातक विकिरणलाई रोक्ने क्षमतासँग हुँदैन ।

# सामान्य व्यक्ति घाममा जाँदा प्रकाशको तीव्रता अनुसार आँखाको पुतलीले आफ्नो आकार परिवर्तन गर्ने गर्छ । अर्थात्, आँखाभित्र जाने प्रकाशको मात्रालाई नियन्त्रित गर्छ । घाम बढी भए पुतलीको प्वाल सानो हुन्छ, जसले गर्दा कम मात्रामा प्रकाश आँखाभित्र जान्छ ।

# आँखाको नानी न्यूनतम प्रकाशमा अधिकतम खुल्छ र अधिकतम प्रकाशमा धेरै साँघुरो हुन्छ । कालो वा कुनै गाढा रंगको सिसा भएको सनग्लास लगाएर घाममा निस्किँदा आँखाको पुतली ठूलै हुन्छ । यसैले, तपाईंले लगाउने सनग्लास परावैजनी किरण अवशोषित गर्न नसक्ने खालको छ भने आँखा थप जोखिममा पर्छन् । सनग्लासले गर्दा पुतलीको आकार ठूलो नै हुन्छ, जसले गर्दा बढी मात्रामा आँखाको पर्दामा परावैजनी किरण जान सक्छ ।

# युभी प्रोटेक्टेड अर्थात् परावैजनी किरणलाई रोक्न सक्ने क्षमता नभएको सनग्लास लगाएर घाममा निस्कँदा आँखालाई झन् हानि हुन्छ, डा. साह भन्छन्, घाममा निस्कँदा युभी प्रोटेक्टेड सनग्लास लगाउनुस् । सामान्य गगल्स लगाउनुको सट्टा केही नलगाई निस्कनु नै फाइदाजनक हुन्छ ।


# गर्मी याममा अभिभावकहरूले घरबाहिर निस्किँदा आफ्ना बालबालिकालाई पनि गगल्स लगाइदिने गरेका हुन्छन् । कतिसम्म भने, काखको नानीलाई पनि त्यही रूपमा बाहिर निकाल्ने गर्छन् । त्यस्ता बालबालिका झलक्क हेर्दा राम्रा पनि देखिन्छन् । तर, तिनलाई गगल्स आवश्यक कुरो होइन । तर विशेषज्ञहरूले भने बालबालिकालाई सन ग्लास आवश्यक नरहेको बताउँछन् ।

# भगवान्ले बच्चाको आँखालाई प्रकृति अनुसार सन्तुलनमा राख्न अपार क्षमता दिएका छन्, डा. साह भन्छन् । उनका अनुसार, घाममा वयस्कको दाँजोमा बालबालिकाको आँखाको पुतली धेरै सानो हुन सक्छ । यसले गर्दा परावैजनी किरणको कुप्रभाव बालबालिकामा त्यस्तो विधि पर्दैन । बालबालिकाका आँखाको सुरक्षाका लागि प्रकृतिले नै यस्तो उपाय अपनाएको हो ।

# सनग्लासको उपयोग खुल्ला र प्रकाश भएको ठाउँमा गर्नुपर्छ । भारतको राष्ट्रिय अन्धत्व निवारण समितिद्वारा गरिएको सर्वेक्षण अनुसार, घर, ससाना बाटाघाटा र अँध्यारा स्थानहरूमा सनग्लासको उपयोग खतरनाक हुन सक्छ ।

# बन्द वा अँध्यारो स्थानमा सनग्लासको उपयोगले आँखाको पुतलीको स्वाभाविक लचकता कम भएर फोटोफोबिया रोग हुन सक्छ । विज्ञहरूका अनुसार, सनग्लासलाई केवल फेसनको वस्तु सम्झिनु हुन्न । कुनै सजावटी वस्तु जस्तै गरी सनग्लासको उपयोग गर्नु हँुदैन ।

# सनग्लास आँखालाई आराम दिन लगाउने हो । तर, लेन्सको उचित र उपयुक्त चुनाव गर्न चुक्नु हुन्न । लामो समयसम्म गुणस्तरहीन लेन्स लगाउनाले आँखाको स्वास्थ्यमा असर पर्छ । आँखा कमजोर हुँदै जान्छन् ।

# बजारमा पाइने सनग्लासको सिसामा केही पावर हुन सक्छ, डा. साह सावधान गराउँछन्, यस्तो सनग्लास लगाउँदा दृष्टिमा असर पर्न सक्छ । घाममा लगाउने चस्मा अर्थात् सनग्लासमा उपयोग गरिएको सिसा गुणस्तरीय हुनुपर्छ । यसमा अलिकति पनि पावर हुनु हँुदैन । सनग्लास पातलो होइन कि ठूलो हुनुपर्छ, पूरै आँखालाई छोप्ने खालको । घामबाट जोगिन लगाइने सबै चस्माको सिसा परावैजनी किरणलाई रोक्ने क्षमतायुक्त हुनैपर्छ ।


# त्यस्तै, सनग्लासको सिसा नीलो वा हरियो रंगको हुनु उचित मानिन्न । किनभने, त्यस्तो सनग्लासले ट्राफिक संकेतहरूमा भ्रम उत्पन्न गर्न सक्छ । कालो र खैरो सिसा भएको सनग्लास राम्रो मानिन्छ, डा. साह भन्छन् ।

# कतिपय व्यक्ति अत्यन्त महँगो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्डको सनग्लास नै राम्रो हुने मान्यता राख्ने गर्छन् । तर, यो सही होइन । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्डको अत्यधिक महँगो सनग्लास जस्तै गुणस्तरको चस्मा निकै कम मूल्यमा किन्न सकिन्छ, साह भन्छन्, राम्रो र भरपर्दो कम्पनीको ग्लास अप्टिसियनको सुझावमा लिएर आफूले चाहे जस्तो फ्रेममा फिट गराउनुस्, यो २० हजार पर्ने गगल्सभन्दा कम हुँदैन

# अप्टिसियन (चस्मा बनाउने व्यक्ति) को सहयोगमा सनग्लासको सिसाको छान्दा गुणस्तरीय सनग्लास आमनेपालीको पहँुचमा हुने उल्लेख गर्दै उनी थप्छन्, घामको चस्माको सिसाको गुणस्तरमा सम्झौता गर्नु हुन्न ।

# सनग्लास लगाउनुअघि सफा लुगाले लेन्स सफा गर्ने गर्नुपर्छ । नत्र संक्रामक रोग सर्ने सम्भावना हुन्छ । अरूको सनग्लास भरसक लगाउनु हुन्न ।


# किन लगाउने, कस्तो नलगाउने:-

. मोतीबिन्दुको कारक परावैजनी किरणबाट आँखामा असर नपरोस् भनी सनग्लास लगाउनुपर्छ । . तर, परावैजनी किरणलाई अवशोषित गर्ने क्षमता नभएको सनग्लास लगाउँदा फाइदाको साटो बेफाइदा हुन सक्छ । . सनग्लासको रंगको मात्राको सम्बन्ध परावैजनी लगायत अन्य घातक विकिरणलाई रोक्ने क्षमतासँग हुन्न । . त्यति उज्यालो नभएका स्थानमा सनग्लासको उपयोगले आँखाको पुतलीको स्वाभाविक लचकता कम भएर फोटोफोबिया रोग हुन सक्छ । . बालबालिकालाई सनग्लास आवश्यक हुन्न ।



********************** सेती आँखा उपचार केन्द्र *************************

सेतोपुल, धनगढी कैलाली














 
 
 

Comments


9858423198

©2018 by Seti Eye Clinic -"SunGlass House". Proudly created with Wix.com

bottom of page