आँखा पाक्ने रोग र बच्ने उपायहरु:
- सेती आँखा उपचार केन्द्र
- Apr 5, 2018
- 3 min read
परिचय :

आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ। यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ। यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ।[३] यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ।
आँखा पाक्ने रोगको सबैभन्दा मुख्य कारण भाइरसको सङ्क्रमण भएपछि लगत्तै हुने ब्याक्टेरियाको सङ्क्रमण हुनेगरेको पाइन्छ। यस्तो भाइरसको सङ्क्रमण भएको बेलामा रुगाका लक्षणहरू देखिन्छन्। यस्ता भाइरस तथा ब्याक्टेरिया सजिलै एक मानिसबाट अर्कोमा सर्न सक्छन्। फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जी आँखा पाक्ने रोगको अर्को मुख्य कारण हो। प्रायजसो यस रोगको पहिचान बिरामीले देखाउने लक्षणहरूका आधारमा गरिन्छ। कहिलेकाहिँ आँखाबाट निस्कने चिप्रालाई प्रयोगशालामा परीक्षणको लागि पठाउने गरिन्छ।
आवस्यकता अनुसार हातधुने बानि गरेमा आँखा पाक्ने रोगबाट केही मात्रामा बच्न सकिन्छ। आँखा पाक्ने रोगको उपचार यसको उत्पति के कारणले भएको हो भन्ने कुरामा निर्भर गर्दछ। भाइरसका कारणले हुने धेरैजसो सङ्क्रमणहरूको कुनै विशेष उपचार छैन।[३] त्यस्तै ब्याक्टेरियाका कारणले हुने धेरैजसो सङ्क्रमणहरू पनि उपचार नगरी निको हुन्छन्। यद्यपी एन्टिबायोटिक औषधिको प्रयोगले रोगको अवधि छोट्याउन सक्छ।[२][३] कन्ट्याक्ट लेन्स लगाउने तथा गनोरिया वा क्लामिडियाका कारणले आँखामा सङ्क्रमण भएकाहरूले समयमै यो रोगको उपचार गराउनु आवस्यक छ। एलर्जीका कारणले आँखा पाकेको बेलामा एन्टिहिस्टामाइन वा मास्ट सेल इन्हिबिटर (थोपा राख्ने) औषधिले उपचार गर्नु पर्छ।
संयुक्त राज्य अमेरिकामा प्रत्येक वर्ष ३० देखि ६० लाख मानिसहरू आँखा पाक्ने रोगको सिकार हुने गर्दछन्। यो रोग लागेका मध्ये धेरैजसो वयस्कहरूमा भाइरसको सङ्क्रमणका कारणले यो रोग लागेको पाइन्छ भने बालबालिकाहरूमा ब्याक्टेरियाको कारणले आँखा पाक्ने रोग लाग्ने गर्दछ। सामान्यतया यो रोग एक वा दुई हप्तामा निको भइसक्छ।]यदि रोगीमा आँखा नदेख्ने, धेरै पीडा हुने, उज्यालोमा बस्न नसक्ने, छालामा मसिना बिमिरा देखा पर्ने भयो वा एक हप्तासम्म पनि कुनै पनि सुधार देखिएन भने थप परीक्षण तथा उपचार आवस्यक हुन सक्छ।भर्खरै जन्मेको बच्चामा हुने आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा नियोनेटल कन्जङ्टिभाइटिस भनिन्छ। यस्तो रोगको पनि विशेष उपचार गरिनु आवस्यक हुन सक्छ।
लक्षण तथा चिह्नहरू
आँखा रातो हुने, आँखाको सेतो भागको बाहिरी तह (कन्जङ्टिभा) सुन्निने तथा आँखा रसिलो हुने जस्ता लक्षणहरू सबै प्रकारका आँखा पाक्ने रोगमा देखा पर्ने लक्षणहरू हुन्। आँखामा सङ्क्रमण भए पनि आँखाको नानीले सामान्य रूपमा काम गरेको हुनुपर्छ भने दृष्य क्षमता पनि सामान्य नै हुनु पर्छ।
भाइरसका कारणले हुने सङ्क्रमण

भाइरसका कारणले हुने आँखा पाक्ने समस्या प्रायजसो माथिल्लो श्वासप्रश्वास मार्गको सङ्क्रमण, रुगा तथा घाँटी दुख्ने समस्यासँगै आउने गर्दछ। यस्तो सङ्क्रमण भएमा अत्याधिक आँसु बहने तथा चिलाउने जस्ता लक्षणहरू देखा पर्छन्। साधारणतया भाइरसको सङ्क्रमण एउटा आँखाबाट सुरु हुने गर्दछ तर सजिलै अर्को आँखामा पनि सर्न सक्छ।
आँखा पाक्ने रोगले आँखाको सेतो भागको बाहिरी तह (कन्जङ्टिभा)लाई हल्का गुलाफी रङ्गको बनाइदिने हुनाले कहिलेकाहिँ आँखाको आइरिसमा हुने सिलियरी सङ्क्रमण भएको जस्तो पनि लाग्न सक्छ। तर सुक्ष्मदर्शक यन्त्रले हेर्दा केही छुट्याउन सकिने खालका थप चिह्नहरू देख्न सकिन्छ। हर्पेस सिम्प्लेक्स तथा भेरिसेला जोस्टर जस्ता अन्य रोगका भाइरसहरूले पनि आँखाको सङ्क्रमण गराउने गरेको पाइन्छ।
एलर्जीका कारणले हुने सङ्क्रमण

कुनै वस्तुको एलर्जीका कारणले आँखाको सेतो भागको बाहिरी तह (कन्जङ्टिभा) इन्फ्लामेसन भएर हुने आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा एलर्जिक कन्जङ्टिभाइटिस भनिन्छ।[६] एलर्जी गराउने वस्तुहरू मानिस अनुसार फरकफरक हुन्छन्।
यस्तो आँखा पाक्ने रोग लागेको बेलामा कन्जङ्टिभाको बाहिरी सतहका रक्तनलीहरू फुलेर आँखा रातो हुने, कन्जङ्टिभा सुन्निने, चिलाउने तथा धेरै आँसु निस्किने जस्ता लक्षणहरू देखिन्छ। यदि एलर्जीसँगै नाकभित्रको झिल्लीमा पनि इन्फ्लामेसन भएको छ भने त्यस्तो अवस्थालाई एलर्जिक राइनोकन्जङ्टिभाइटिस भनिन्छ। मास्ट जीवकोषहरूले गर्ने हिस्टामाइन तथा अन्य सक्रिय वस्तुहरू निष्कासनका कारण लक्षणहरू देखा पर्ने गर्दछन्। त्यस्ता वस्तुहरूले रक्तनलीहरू फुलाउने, स्नायुको टुप्पाहरूमा चिलाउने र आँसुको उत्पादन बढाउने गर्दछन्।
ब्याक्टेरियाका कारणले हुने सङ्क्रमण

ब्याक्टेरियाका कारणले आँखा पाक्ने रोग लागेको बेलामा तिब्र गतिमा आँखा रातो हुन्छ भने आँखाको ढकनी सुन्निने तथा चिप्रा निस्कने हुन्छ। साधारणतया सुरुमा एउटा आँखामा लक्षणहरू देखिन्छ तर दुईदेखि पाँच दिनसम्ममा अर्को आँखामा पनि सरिसक्छ। पिप निकाल्ने (पायजेनिक) ब्याक्टेरियाका कारणले आँखा पाकेको छ भने आँखा चिलाउने वा बिझाउने हुन सक्छ। त्यस्तै आँखामा धागो जस्तो, अपारदर्शी, खरानी रङ्ग वा पहेलो खालको चिप्रा देखा पर्छ जसले आँखाको ढकनीलाई एकआपसमा टाँसी दिन्छ। विशेषगरी निदाएर उठ्ने बेलामा यस्तो भेटिन सक्छ। सङ्क्रमित आँखा वा आसपासको छाला अत्यन्तै कडा हुने समस्या पनि देखिन सक्छ। यो रोग लागेको बेलामा आँखामा चिलाउने वा बिझाउने महशुस हुने हुनाले बिरामीलाई आँखामा केही बाहिरी वस्तु परेको भान पर्न सक्छ। छोटो अवधिको तर गम्भीर खालको सङ्क्रमण धेरै पीडादायी हुन्छ। साधारणतया स्टाफाइलोकोकाई र स्ट्रेप्टोकोकाई वर्गका ब्याक्टेरियाका कारणले कम असर गर्ने खालको आँखा पाक्ने रोग लाग्ने गर्दछ।[७]
क्लामिडिया, ट्राकोमाटिस वा मोराक्जेला जस्ता ब्याक्टेरियाले चिप्रा नदेखिने र आँखा कम रातो हुने तर लामो अवधिसम्म रहने खालको रोग लगाउने गर्दछन्।
ब्याक्टेरियाका कारणले आँखा पाकेको बेलामा आँखाको कन्जङ्टिभालाई ढाक्ने खालको झिल्ली वा नक्कली झिल्ली बन्न पनि सक्छ। नक्कली झिल्लीहरू सुन्निएका कोषहरू तथा चिप्रा मिलेर बनेका हुन्छन् भने आँखाको बाहिरी तहमा खुकुलोसँग टाँसिएका हुन्छन्। तर सक्कली झिल्लीहरू आँखाको बाहिरी तहमा बलियो गरी टाँसिएका हुन्छन् जसलाई सजिलै हटाउन सकिँदैन।
********************** सेती आँखा उपचार केन्द्र *************************
सेतोपुल, धनगढी कैलाली
Comments